Monday, August 3, 2015

मलाई एउटा रमाइलो घट्नाको याद आयो!

साँझको समय थियो। तर अध्याँरो भैसकेको थिएन। ठ्याक्कै कति बजेको थियो, राम्रो सँग याद भएन। त्यस्तै साँढे ६ जति बजेको थियो होला। म बौद्ध घुम्न गएर कोठा तिर फर्कदै थिए। बौद्ध बाट म बस्ने ठाँऊ (मण्डिखटार) पुग्नलाई हिँडेर त्यस्तै ४०/४५ मिनेट जति लाग्छ। म एक्लै अलि हतारमै हिँडिरहेको थिँए। संयोगले त्यस दिन विश्वकर्मा पूजा परेको थियो। सबै साना-ठूला कलकारखाना तथा बाईक र गाडी workshop हरुमा तोरण टाँगेर पूजा गरिरहेका थिए। कलकारखानाका कामदारहरु रमाइलो गरिरहेका थिए, धेरै जसो चाँहि जाँडले मात्तिसकेका थिए।

म ठ्याक्कै महाँकाल चोकमा मुल सडक पार गरेर तेन्जिङ चोक तर्फ हिँडिरहेको थिए। अचानक मान्छेहरु दौडन थाले, सबै भागाभाग गर्न थाले। के भइरहेको हो, मैले केहि बुझ्नै सकिन। दुईजना केटाहरु भाग्दै-भाग्दै मेरै छेऊमा आईपुगे। मलाई पनि "भाग्नुस् दाई" भन्दै दुवै जना त्यहाँ बाट भागेर महाँकाल चोकमा रहेको खुल्ला चौर भित्र छिरे। अलि पर पट्टि एउटा बाईक workshop थियो। त्यस भित्रबाट टाउकोमा फेटा बाँधेका केटाहरुको एउटा हुल कराउँदै बाहिर निस्केर मै तिर दौडेर आउँन थाले। मैले सोँचे, आज विश्वकर्मा पूजाको दिन सबैजना जाँड खाएर मातेका हुन्छन्, पक्कै पनि Gang Fight परेको हुनुपर्छ। ति फेटा बाँध्ने केटाहरुले त्यो दुईजना केटाहरुलाई कुट्नलाई लखेटेको हुनुपर्छ। तिनिहरुको हातमा पक्कै पनि हतियार होला, मलाई पनि हिर्काउछ होला भन्ने सोँचे, जीऊ नै सिरिङ्ग भएर आयो। त्यहि भएर म पनि ति दुईजना केटाहरुको पछि-पछि भाग्न थाले। पछाडिबाट मान्छेहरु कराउँदै आइरहेका थिए। म पनि पछाडि नहेरिकन दौडन थाले। ति दुईजना केटाहरु चौरको अर्को पट्टिको गेटबाट निस्केर तिनचुली जाने बाटो तिर भाग्न थाले, म पनि पछि-पछि दौडदै थिए। बाहिर निस्कने गेटैमा एकजना दिदी गेटमा लगाइएको फलामको बार समाएर बसिरहेकी थिएन्। मलाई देख्ने बितिक्कै ति दिदीले, "भाई त्यसरी नभाग्नुस्, माथि रुख लड्न लागिसक्यो!" भनिन्। यसो माथि हेरेको, साँच्चिकै रुख त हल्लिरहेको थियो। म त झनै अलमल्ल परे। न त हावा नै चलेको छ, न त कसैले केहि नै गरेको छ, फेरि यो रुख किन यसरी हल्लेको होला! अगाडि तिर रुख हल्लिरहेको छ, पछडिबाट फेटा बाँधेका केटाहरु आउँदै छन्। के गर्ने के नगर्ने, एकछिन त केहि सोँच्नै सकिन। हत्त न पत्त त्यो दिदीलाई सोधिहालेछु, "दिदी यहाँ के भाको हो यो?" ति दिदीले सास अड्काउदै, "भाई भूँ-भूँ-भूँईचाल आउँदै छ, पर्खाल समाएर बस्नुस्" भनिन्। भित्रै अड्किसकेको सास बल्ल बाहिर निस्केर आयो। एकछिन् आनन्दले सास फेरे। अनि यसो भूँई तिर हेरेको केहि पनि महसुस् भएन, सायद भूँईचाल रोक्किसकेको थियो। अनि यसो पछडि फर्केर हेरे, चौरमा टन्नै मान्छे जम्मा भैसकेछ।

साँच्चिकै भूँईचालो महसुस गर्नेहरुको हालत के भयो होला, त्यो त म भन्न सक्दिन। तर मैले चाँहि भूँईचालो महसुस नै गर्न सकिन, तैपनि एकछिन चाँहि "सातो" नै गएको थियो।
 ......

सन्दर्भ हो : २०६८ साल असोज १ गते अर्थात 18 September 2011 को दिन सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको ६.८ रेक्टर स्केलको भूकम्प जाँदाको मेरो अनुभव। सो भूकम्पले नेपालमा पनि झन्डै आधा दर्जन भन्दा बढी मान्छेको ज्यान लिएको थियो।

No comments:

Post a Comment